काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चैत १४ का लागि तय भएको केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित भएको छ । निर्वाचन समितिले आइतबार सूचना टाँगेर एन्फाको निर्वाचन स्थगित भएको जनाएको छ । उच्च अदालत पाटनले बिहीबार एन्फा निर्वाचन तत्कालका लागि रोक्न दिएको आदेशको सम्मान गर्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।
भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघको तर्फबाट दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले चैत १४ लाई तय भएको एन्फाको निर्वाचन तत्काल रोक्न आदेश दिएको थियो । आफूहरुलाई निर्वाचनबाट वञ्चित गराइएको भन्दै उनीहरुले हालेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश वनको इजलासले अर्को सुनुवाइ नभएसम्म निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । हालको गतिरोध अन्त्यका लागि एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधि मंगलबार नेपाल आउन लागेको एन्फाले जनाएको छ ।
यसअघि अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) ले तोकिएको मितिमा निर्वाचन नगरे कठोर निर्णय लिने चेतावनीसहितको पत्र एन्फालाई पठाएको थियो । एन्फा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदैछ । कुँवरलाई एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र पूर्व अध्यक्ष गणेश थापाको समर्थन छ भने शेर्पाको पक्षमा ३ उपाध्यक्षसहित पूर्व सिइओ इन्द्रमान तुलाधर लगायतको साथ छ ।
शेर्पाले लामो समयदेखि नेपाली फुटबलमा देखिँदै आएको विसंगतिविरुद्ध आवाज उठाउँदै आउनुभएको छ । एन्फामा दुई दशक नेतृत्व गरेका गणेश थापा भ्रष्टचारको आरोपमा दोषी ठहर भई फिफाबाट १० वर्ष फुटबल प्रतिबन्धमा परेका थिए। शेर्पाकै उजुरीमा तत्कालीन संसद्को लेखा समितिले थापामाथि ५८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गरेपछि शेर्पाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। तर, अख्तियारले मुद्दालाई तामेलीमा राखिएदिएको थियो ।

422 पटक हेरिएको 

