एमालेलाई झट्का लाग्नेगरी प्रचण्डले राखे ओलीसामु यस्तो प्रस्ताव

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत पार्टी कमिटीमा दुवै पक्षका बराबरी संख्यामा नेता(कार्यकर्ता समेटिनुपर्ने प्रस्ताव गरेका छन् ।एकीकृत पार्टीका माथिल्लोदेखि तल्लो कमिटीसम्म ‘फिप्टी–फिप्टी’ (समानताको सिद्धान्त) अवधारणाका आधारमा बनाउनुपर्ने दाहालले प्रस्ताव गरेका हुन् ।

अन्तरिम विधान बनाउन गठित कार्यदलले एकीकृत पार्टीको केन्द्रीय संरचनादेखि तल्ला कमिटी कति संख्याको बनाउने र कुन पार्टीले कति प्रतिशतका आधारमा नेता–कार्यकर्ता व्यवस्थापन गर्ने भन्नेमा शीर्ष दुई नेताको निर्णय पर्खिएका बेला दाहालको पछिल्लो प्रस्ताव आएको हो । दुई पार्टीबीच प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशतका आधारमा सिट बाँडफाँट भएको थियो । तर, चुनावी परिणाममा एमाले ७० र माओवादी केन्द्र ३० को नतिजामा देखिएपछि सरकार गठनमा भने ७०–३० को भागबन्डा भएको थियो।

तर, माओवादीले पार्टी एकता भने सिट बाँडफाँट र चुनावी नतिजाले मात्र निर्धारण नगर्ने भन्दै समानताको सिद्धान्तका आधारमा दुवै पक्षको समान हैसियत हुनुपर्ने बताउँदै आएको छ ।

दाहालले एमालेमा भन्दा माओवादीमा पूर्णकालीन र जुझारु कार्यकर्ता बढी भएको र विगतमा माले(माक्र्सवादीबीचको एकता, माओवादीले विभिन्न समूहसँग गरेको एकता समान ढंगले नै गरेकाले अहिले पनि दुई पार्टी एकता दुवै पक्षको अस्तित्व स्वीकार गरेर गरिनुपर्ने बताएका हुन् ।

दुई पार्टीबीच प्रधानमन्त्रीको आसन्न भारत भ्रमणअगावै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने गरी तयारी हुन थालेपछि अब छलफल पार्टी कमिटीका आकार र कमिटीमा प्रतिनिधित्वका विषयमा केन्द्रित हुन थालेको छ ।

सोमबार साँझ प्रधानमन्त्री केपी ओली र दाहालबीचको छलफलमा पनि पार्टी एकताको तयारी, कार्यदलको काम र शीर्ष नेतृत्वले टुंगो लगाउनुपर्ने विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो । ‘कार्यदलमा भएका प्रगति र टुंगो लगाउनुपर्ने विषयमा छलफल भएको छ’, दाहालको निजी सचिवालयले जानकारी दियो ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने दुई अध्यक्षबीचको छलफल पार्टी एकताकै विषयमा केन्द्रित रहेर भएको बताए पनि छलफलका विषयमा भने अनभिज्ञता व्यक्त गरे ।

‘पार्टी एकताकै विषयमा छलफल भएको छ तर त्यसभित्रका पनि विषय यही भन्ने दुई शीर्ष नेता मात्र छलफलमा रहनुभएकाले ठ्याक्कै थाहा हुन सकेन,’ अधिकारीले भने ।

कार्यदलका संयोजक तथा गृहमन्त्री रामबहादुर थापाको सरकारीनिवास पुल्चोकमा सोमबार साँझ बसेको बैठकले पार्टी कमिटीको संख्या, सहभागिताको प्रतिशतका विषय शीर्ष दुई नेताको छलफलका आधारमा टुंगो लगाउने समझदारी गरेको छ ।

कार्यदल सदस्यसमेत रहेका माओवादी नेता जनार्दन शर्माले एकीकृत पार्टीको संगठनको आकार शीर्ष नेतामै छलफल गरी मिलाउने गरी कार्यदलले छोडेको बताए ।

माओवादीले एकीकृत पार्टीको कमिटी प्रतिशतका आधारमा नभई समानताका आधारमा हुने भएकाले त्यही सिद्धान्तमा जोड दिइरहेको पनि शर्माले बताए ।

अध्यक्ष दाहालले सोमबार मात्रै पार्टीनिकट विद्यार्थी संगठनको केन्द्रीय प्रशिक्षणलाई सम्बोधन गर्दै ओलीसँग आफूले बराबरी हैसियतको पार्टी कमिटीको प्रस्तावमा छलफल गर्न लागेको बताएका थिए ।

‘एकता सम्मानजनक हुन्छ, एकता गर्दा केन्द्रदेखि तल्लो कमिटीसम्म फिप्टी–फिप्टीकै आधारमा हुनुपर्छ, हाम्रो प्रस्ताव एमालेसँग त्यही हुन्छ,’ दाहालको भनाइ उद्धृत गर्दै अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले भने ।

०६४ सालमा एमालेसँग माओवादीले राखेको प्रस्ताव पनि दाहालले विद्यार्थी नेताहरूको प्रशिक्षणमा स्मरण गर्दै एकता सम्मानजनक बनाउने केही आधार खुलाएका थिए ।

‘०६४ सालमा हामी ठूलो पार्टी थियौं, माधव नेपाल एमालेको नेतृत्वमा हुनुहुन्थ्यो, त्यसबेला एकताको छलफल गर्दा हामीले नै ५०(५० को प्रस्ताव राखेका थियौं, त्यसबेला हामीले ठूलो पार्टी भनेर दम्भ गरेका थिएनौं, ठूलो भनेर दम्भ गरेर पार्टी एकता हुँदैन’, दाहालले भने ।

उनले जनयुद्धका बेला र त्यसपछि पनि विभिन्न पार्टी र समूहसँग माओवादीले एकता गर्दा सम्मानजनक हैसियत दिएरै एकता भएको पनि दाहालले अनुभव सुनाएका थिए ।

‘हाम्रो अभ्यास भनेको जुनकुनै अवस्थामा पार्टी एकतामा आउनेहरूसँग पनि सम्मानजनक रूपमा गरेको अभ्यास छ,’ दाहालले भने, ‘एमाले–माओवादी दुवैमा त्यस्तै अभ्यास छ । अहिले पनि त्यही हुन्छ ।’

आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार