पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाली खेलकुदकै प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४’ को लागि ‘पिपुल्स च्वाइस अवार्ड’ को मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार ‘पिपुल च्वाइस अवार्ड’ को मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक गरेको हो ।

जेठ पहिलो साता हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको दौरान प्रदान गरिने ‘पिपुल्स च्वाइस अवार्ड’ को मनोनयनमा क्रिकेटर सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, गल्फकी प्रतिमा शेर्पा, भलिबलका मान बहादुर श्रेष्ठ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ मनोनयनमा परेका छन् । २०७४ सालमा गरेको प्रदर्शनका आधारमा पाँच खेलाडीलाई मनोनयन गरिएको मञ्चले जनाएको छ । मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको यो अवार्ड जेठ ३ गते हुँदैछ ।

मनोनयनमा परेका खेलाडीमध्ये एसएसएम भोटिङको आधारमा एक खेलाडीलाई अवार्ड वितरणको दौरान विजेता घोषणा गरिने छ । मञ्चका अध्यक्ष महेश आचार्यले छनौटमा परेका खेलाडीलाई जनताले भोट गर्ने र छान्ने सम्पूर्ण जिम्मा जनताको रहेको बताउनुभयो । यस वर्षको पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस अवार्डसहित ८ विधामा अवार्ड प्रदान गरिने उहाले जानकारी दिनुभयो ।

पिपल्स च्वाइससहित यो पटक वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खेलाडीलाई सम्मानित गरिने छ ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको मुख्य प्रायोजनमा हुने अवार्ड अन्तर्गत वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा वर्षका उत्कृष्ट प्रशिक्षकले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै अन्य विधाका विजेताले समान ५०–५० हजारसहित गिफ्ट ह्याम्पर पाउने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार