उत्तर र दक्षिण काेरियाली राष्ट्रपतिबिच एेतिहासिक शिखर वार्ता शुरू

एजेन्सी । उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनबीच दुइ देशकाे सिमाक्षेत्र पानमुनजाेममा शिखर बैठक सुरु भएको छ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका अनुसार स्थानीय समयअनुसार बिहान ठिक साढे ९ बजे उत्तर काेरियाली नेता किम पैदल नै सीमा पार गर्दै बैठक स्थल पुगेका छन् । नेता किमलाई स्वागत गर्न दक्षिण राष्ट्रपति मुन सीमाक्षेत्रमा नै पुगेका थिए ।

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धपछि दक्षिण कोरियामा पाइला टेक्ने किम उत्तर कोरियाका पहिलो शाषक हुन्। पानमुनजोमको पिस हाउसमा स्थानीय समयअनुसार साढे १० बजे वार्ता सुरु हुनुअघि दुवै राष्ट्रप्रमुखलाई ‘गार्ड अफ अनर’ दिइएको थियो।

भ्रमणमा संलग्न ९ सदस्यीय उत्तर कोरियाको प्रतिनिधिमण्डलमा उत्तर कोरियाका संवैधानिक राष्ट्रप्रमुख किम योङ नाम, नेता किमकी बहिनी तथा उत्तर कोरियाको सत्ताधारी वर्कर्स पार्टीकी नेता किम यो जोङ, विदेश मन्त्री री योङलगायत छन् ।

शिखर वार्ताको पहिलो सत्रको छलफलपछि दुवै नेताले संयुक्त रुपमा वृक्षारोपण गर्ने कार्यक्रम छ । दुवै नेताले बैठकको अन्त्यमा एक सम्झौतामा हस्ताक्षर गर्ने र आफ्नो भनाइसमेत राख्नेछन्।

बैठकमा दुई कोरियाबीच रहँदै आएको तनाव, उत्तर कोरियाली आणविक कार्यक्रम तथा उत्तरमाथि लाग्दै आएको अन्तर्राष्ट्रिय नाकाबन्दी लगायतका विषयमा छलफल हुने बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार