काठमाडौ । सघीय संसदको बजेट अधिवेशन यही वैशाख २३ गते आइतबार शुरु हुने भएको छ । सभामुख कृष्णबहादुर महराले बुधबार संसद सचिवालय सिंहदरबारमा पत्रकार भेटघाट गर्दे बजेट अधिवेशनको कार्यसूची सार्वजनिक गर्नुभएको हो । पहिलो दिन २३ गते अपराह्न ४ बजे बैठक शुरु हुनेछ । सोही दिन अधिवेशन शुरु हुनुअघि जारी अध्यादेशहरू बैठकमा पेश हुनेछन् ।
त्यसपछि २४ गतेदेखि नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल तथा त्यसअघि पेश भएका अध्यादेशहरू स्वीकृत गर्ने कार्यतालिका संसद सचिवालयले बनाएको छ । २६ गते संसदमा अर्थमन्त्रीले प्रि बजेट पेश गर्नेछन् । त्यसमाथि ३ दिनसम्म छलफल चल्नेछ । जेठको पहिलो साता राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख महराले जानकारी दिनुभयो ।
सभामुख महराले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थमन्त्रीबाट प्रस्तुत गर्ने र छलफल गर्ने जानकारी गराउनुभयो । अर्थमन्त्री विदेश भ्रमणमा जाने भएकाले प्रि बजेटमाथिको छलफल तीन दिनपछि सारिएको सभामुख महराले जानकारी दिनुभयो ।
संविधानले तोकेकै दिन जेठ १५ गते बजेट प्रस्तुत हुनेछ । जेठ १७ गतेदेखि १ सातासम्म बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ भने उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्रीले दिने कार्यक्रम छ । जेठको अन्तिम सातादेखि असारको तेस्रो सातासम्म विषयगत र शीर्षकगत छलफल गरी बजेट र त्यसआश्रित विधेयकहरू पारित हुनेछन् ।

346 पटक हेरिएको 

