काठमाडौँ । प्रदेश नम्बर ७ ले मनमोहन मेमोरियल अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार काठमाडौंमा भएको फाइनलमा २ नम्बर प्रदेशलाई २४ रनले हराउदै ७ नम्बर प्रदेश च्याम्पियन बनेको हो ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा ७ नम्बर प्रदेशले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको २ नम्बर प्रदेशले पुरै ३० ओभरमा ९ विकेट गुमाएर १सय ८४ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ७ नम्बर प्रदेशले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो ।
उपाधिसंगै प्रदेश नम्बर ७ ले नगद २ लाख ५० हजारसहित ट्रफी, मेडल र क्रिकेट खेल सामग्री प्राप्त गरेको छ । उपविजेता बनेको २ नम्बरले १ लाख ५० हजारसहित क्रिकेट सामग्री प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी २ नम्बरमा विवेक यादब घोषित भए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट ब्याट्सम्यान २ नम्बरका अमित यादब र उत्कृष्ट बलर ७ नम्बरका नरेन्द्र सावद घोषित भए । यस्तै उत्कृष्ट फिल्डर बब्नेका ७ नम्बरका हृदय बिथारी र उत्कृष्ट विकेटकिपर ७ नम्बरकै राजन सिंहले ट्रफी हात पारे । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा भएको प्रतियोगितामा ७ प्रदेशको ७ टिमको सहभागिता रहेको थियो ।

495 पटक हेरिएको 

