काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुर्याएको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग आफूले राष्ट्रिय हितलाई कमजोर हुनेगरी कुनै पनि खालको समझदारी नगरेको पनि स्पष्ट पार्नु भयो । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे आईतबार प्रतिनिधिसभालाई जानकारी गराउँदै उहाँले अव दुई देशबीचको सम्बन्धलाई बराबरीको आधारमा अघि बढाउने वातावरण बनाउन पनि आफू सफल भएको दावी समेत गर्नु भयो ।
प्रधानमन्त्री ओलीले मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनताले राष्ट्रियताबारे देखाएको सजकताप्रति पनि खुसी व्यक्त गर्नु भयो । तर उहाँले मोदीलाई जनकपुरमा गरिएको नागरिक अभिनन्दनको आलोचना गरिएकोमा भने असन्तुष्टि व्यक्त गर्नु भयो ।
प्रधानमन्त्री ओलीले नेपालको तराईका भूमि डुबान समस्या समाधान गर्न भारत तयार भएको पनि स्पष्ट पार्नु भयो । भारतीय प्रधानमन्त्री मोदीले वर्षा अघि नै डुबान समस्या समाधानका लागि कार्यदल बनाएर काम गर्ने प्रतिवद्धता जनाउनु भएको प्रधानमन्त्री ओलीको भनाई छ । उहाँले दुई देश बीच विगतमा गरिएको सहमति आगामी असोज महिना भित्रै कार्यान्वयन भईसक्ने गरी भारतसँग सहमति गरिएको पनि स्पष्ट पार्नु भयो ।

546 पटक हेरिएको 

