सन्दीप लामिछाने आईसीसी विश्व ११ मा परे, वेस्ट इन्डिजविरूद्ध खेल्ने

काठमाडौं । क्रिक्रेटर सन्दीप लामिछाने विश्व ११ बाट लर्डसमा खेल्न छानिएका छन् । आईसीसीका अनुसार आईसीसी विश्व ११ र वेस्ट इन्डिजकाबीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ ।

गत वर्ष आएको हुरिकन इर्मा र मारिआ आँधिबेरीका कारण डोमिनिकाको विन्डसोर पार्क रंगशाला र अंगुइलाको जेम्स रोनाल्ड वेबस्टर पार्क रंगशाला भत्काएका कारण त्यसको पुनर्निमाणका लागि विश्व ११ र वेस्ट इन्डिजका बीच च्यारिटी खेल आयोजना हुन लागेको हो ।

पहिलो पटक नेपाली खेलाडी विश्व ११ को टोलीमा परेका हुन् । सन्दीप अहिले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सको टोलीमा छन् । सन्दीपले सन् २०१६ को जुलाईमा नेपाली राष्ट्रिय टोलीबाट लर्डसमा खेल्दै मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध १ विकेट लिएका थिए ।

को-को खेल्दैछन् ?
इंग्ल्यान्डका कप्तान इयन मोर्गनको कप्तानीमा रहने विश्व ११ मा सन्दीपसँगैं पाकिस्तानी अलराउन्डरद्वय शहिद अफ्रिदी र शोएव मलिक तथा श्रीलंकाका थिसारा पेरेरा, तामिम इकबाल, दिनेश कार्तिक, रशिद खान, मिचले म्याकलेनाघन, हार्दिक पाण्ड्या, लुक रोन्ची रहेका छन् । बंगलादेशका अलराउन्डर शकिबअल हसनले चोटका कारण आफ्नो नाम फिर्ता लिएका थिए । विश्व ११ को प्रशिक्षक एवंम व्यवस्थापकमा एन्डी फ्लावर रहेका छन् । कार्लोस ब्राथवेटको कप्तानीमा रहने वेस्ट इन्डिजको टोलीमा क्रिस गेयल, सामुइल बद्री, एन्ड्रयु फ्लेचर, रायद इम्रित, इभिन लुइस, एस्ली नर्स, किमो पाउल, दिनेश रामदिन, रोभमान पोवेल, एन्ड्रयु रसेल, मार्लोन सामुइल्स, केसरिक विलियम्स लगायत खेलाडी छन् ।

नेपालले यस वर्षको जुलाई लर्डसमा गएर एमसीसी र नेदरल्यान्ड्सविरुद्ध ट्वान्टी–२० त्रिकोणात्मक शृंखला खेल्दैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार