विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका आरोपी छिरिङ वाङगेल घलेलाई जिल्ला अदालतन मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
फरार सूचीमा रहेका उनले आइतबार अदालतसमक्ष आत्मसमर्पण गरेका थिए। कानुन व्यवसायीमार्फत् अदालतको सम्पर्कमा पुगेलगत्तै उनको बयान लिइएको थियो।
बयान सकिएपछि जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले सरकारका तर्फबाट बहस प्रस्तुत गरेका थिए । त्यसपछि घलेका तर्फबाट कानुन व्यवसायीहरु विश्वराज भट्टराई र सरोज अधिकारीले बहस प्रस्तुत गरेका थिए।
सरकारी वकिलले प्राप्त प्रमाण र प्रतिवादीहरुको बयानका आधारमा तस्करीमा संलग्न देखिएको भन्दै थुनामा राखेर पुर्पक्ष गर्न माग गरेका थिए।
प्रतिवादीका वकिलहरुले सुन तस्करीमा घलेको संलग्नता नरहेको भन्दै तारेखमा छाड्न इजलाससमक्ष माग गरेका थिए । दुबैतर्फको बहस सकिएपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासबाट उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको निमित्त रजिष्ट्रार केदार गौतमले बताए ।
सुन तस्करीमा प्रत्यक्ष रुपमा संलग्नता देखिएको भन्दै घलेलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोबस्तको ११८ को देहाय २ का आधारमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको हो । आदेशलगत्तै उनलाई मोरङ जिल्ला कारागार लगिएको छ ।

422 पटक हेरिएको 

