एजेन्सी– ग्वाटेमालामा विस्फोट भएको ज्वालामुखीमा परी ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ । स्थानीय समय अनुसार आइतबार दिउँसो भएको ज्वालामुखी बिस्फोटका कारण धेरै मानिस हराएको हुनसक्ने जनाइएको छ ।
उद्धारकर्मी तथा सुरक्षाकर्मीले ज्वालमुखीमा परी हराएका मानिसको खोजीका लागि अग्नीनियन्त्रकहरुलाई सहयोग गरिरहेका छन् । ज्वालामुखी बिस्फोट भएपछि निकै तातेका चट्टान, खरानी तथा लाभाहरु गाउँसम्म आइपुग्दा पूरै गाउँ नै ध्वस्त भएको छ ।
राजधानी ग्वाटेमाला सिटीबाट झण्डै ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको फुएगो ज्वालामुखीबाट ताता चट्टान, कालो धुवाँ र खरानी निस्किएको छ । अग्नीनियन्त्रकले ज्वालमुखीमा हराएका मानिसको खोजी गरिरहेका छन् ।
ज्वालामुखी बिस्फोट भएपछि हजारौँ मानिसलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा लगेर अस्थायी सेल्टरमा राखिएको बीबीसीले उल्लेख गरेको छ । ज्वालामुखी बिस्फोटका कारण खरानी १० किलोमिटर माथि आकाशमा पुगेको थियो ।
ज्वालामुखी बिस्फोटका कारण निकै तीब्र गतिमा बग्ने तातो ग्यास र ज्वालमुखीजन्य सामग्रीको नदी जस्तै पनि बनेको थियो । जसका कारण तल रहेका एल रोडेओ र सान मिगुएल लोस लोटेससहितका क्षेत्रमा समेत क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यो सन् १९७४ यताकै सबैभन्दा ठूलो ज्वालामुखी बिस्फोट हो । ज्वालामुखी बिस्फोटका कारण १७ लाख भन्दा मानिस प्रभावित भएको सरकारी अधिकारीले बताएका छन् ।

543 पटक हेरिएको 

