मलेसियामा रहेका अवैध आप्रवासी कामदारलाई स्वदेश फर्किने अन्तिम मौका

मलेसिया । मलेसियामा नयाँ सरकार गठन भएसँगै त्यहाँ रहेका अवैध आप्रवासी कामदारलाई हटाउन कडा कदम चालिएको छ । सरकारले अगष्ट ३० सम्मको लागि स्वदेश फर्किन आग्रह गर्दै अन्तिम मौका दिएको हो ।

मलेसियाको कानुन मन्त्रालय र अध्यागमन विभागले आगामी अगस्ट ३० भित्र आफ्नो देश फर्किन त्यस्ता कामदारलाई आग्रह गरेको छ। उक्त समयमा स्वदेश नफर्किने कामदारका साथै उनीहरु कार्यरत रोजगारदाता कम्पनीलाई समेत कडा कारबाही गरिने चेतावनी दिइएको छ।

अवैधानिक रुपमा बसेर काम गरिरहेका कामदारलाई जरिवाना तिरेर स्वदेश फर्किने अवसर मलेसिया सरकारले यसअघि दुई पटक दिइसकेको थियो। अब भने त्यस्ता कामदारलाई जरिवाना नतिरी सीधै स्वदेश फर्कन आग्रह गरिएको छ।

गैरकानुनी रुपमा काम गरिरहेका आप्रवासी कामदारलाई स्वदेश फर्किन मलेसिया सरकारले गत वर्ष जनवरीदेखि जून ३० सम्मको समय दिएको थियो।
सो अवधिमा ५  हजारभन्दा बढी अवैध नेपाली कामदार नेपाल फर्किएका मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। त्यसपछि दोस्रो पटक अक्टोबर १० देखि डिसेम्बर ३१ सम्म दिइएको अवधिमा २५ हजारभन्दा बढी कामदार नेपाल फर्किएका थिए।

मलेसियामा कति नेपाली कामदार यसरी अवैध रुपमा काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक नेपाल सरकारसँग छैन। हाल ४ लाख नेपाली कामदार वैधानिक तवरमा मलेसियामा कार्यरत रहेको सरकारी तथ्यांक छ।

त्यसबाहेक करिब १  लाख नेपालीहरु गैरकानुनी रुपमा काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ। मलेसिया सरकारले अवैध आप्रवासी कामदारलाई हटाउने नयाँ नीति ल्याएसँगै मलेसियामा रहेको नेपाली दूतावासले पनि नेपाली कामदारलाई स्वदेश फर्किन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार