शेयर कारोबारमा लगाइएको करका विषयमा सरकार पछि हट्यो

काठमाडौँ । सेयर लगानीकर्ताको आन्दोलनपछि सरकार हकप्रद र बोनस सेयरको आधारमूल्यमा पुँजीगत लाभकर लगाउने निर्णयबाट पछि हटेको छ ।

लगानीकर्तासँग बुधबार भएको वार्तामा सरकारले चालू आर्थिक वर्षभरि पुरानै व्यवस्थाअनुसार पुँजीगत लाभकर गणना गर्ने निर्णय भएको हो । लगानीकर्ताले कारोबार नै रोकेर आन्दोलनमा उत्रिएपछि अर्थ मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा सुझाव समिति गठन गरेको थियो ।

लगानीकर्तासँग भएको सहमतिअनुसार समितिको प्रतिवेदनपछि त्यसैअनुसार अगाडि बढ्ने गरी हाललाई पुरानै व्यवस्था कायम गरिएको पुँजी बजार लगानीकर्ता संघका उपाध्यक्ष एनवि थापाले जानकारी दिनुभयो । वार्तामा करका देखिएका समस्याका बिषयमा १५ दिनभित्र अध्ययन गर्न समिति गठन गरिएको उहाले बताउनुभयो ।

अध्ययन समितिमा लगानीकर्ताका प्रतिनिधीहरु पनि रहेका छन् । लगानीकर्ता र ब्रोकर कम्पनीले सरकारको पछिल्लो निर्णयको विरोध गर्दै कारोबार नै बन्द गरेका थिए । यसरी कारोबार नै बन्द भएपछि अहिलेका लागि पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्नुभन्दै अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्र पठाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार