काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिनुभएको छ ।
खड्काले बिहिवार पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । खड्काले आजै वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवमार्फत् मन्त्रिपररिषद्मा राजीनामा पेस गर्नुभएको थियो । पत्रकार सम्मेलनमा खड्काले देशीविदेशी तत्व लागेर आफूलाई असफल बनाएको आरोप लगाउनुभभयो । उहाँले घाटामा गएको निगमलाई नाफामा लगेको दाबी पनि गर्नुभयो । खड्काले आफूलाई आयल निगमबाट मन्त्रालय तानेर नौ महिनासम्म कामविहीन बनाएर राखेको आरोप पनि लगाउनुभयो ।
२०७२ माघमा आयल निगमको कार्यकारी निर्देशकको पदमा नियुक्त भएपछि तीन वर्षको अवधिमा आफ्नो पदीय जिम्मेवारी कानूनसम्मत रुपमा देशवासीको सेवा गरेको खड्काको दाबी थियो । राजीनामा पत्र पढेर सुनाउँदै उहाँले आफ्नो ६ महिना अवधि बाँकी भए पनि मन्त्रीलाई राजीनामा बुझाउन लागेको धारणा राख्नुभयो ।
निगमको जग्गा खरिददेखि नाकाबन्दीका बेला पेट्रोलियम वितरणमा अनियमितता गरेर विवादमा आएका खड्कालाई तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा बर्खास्त गरिएको थियो । बर्खास्त भएका खड्का आफूलाई गैरकानुनी रुपमा हटाइएको भन्दै सर्वोच्च अदालत पुग्नुभएको थियो । लगत्तै सर्वोच्चले खड्कालाई नहटाउन आदेश दिएको थियो । सवोच्चको आदेशपछि सरकारले खड्कालाई आपूर्ति मन्त्रालय तानेको थियो ।
आपूर्ति मन्त्रालयमा तानेपनि खड्काले हाजिर मात्रै गर्दै आउनुभएको थियो भने उहाँलाई कुनै जिम्मेवारी दिईएको थिएन् ।

396 पटक हेरिएको 

