काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारी संयन्त्र तयार गरी शून्य लागतमा कामदारको छनोट र आपूर्तिको व्यवस्था मिलाउन कतारसँग आग्रह गरेका छन् ।
नेपालका लागि कतारका राजदूत महमद युशुफसँग मन्त्रालयमै भेटेर मन्त्री विष्टले कतारमा कार्यरत नेपाली कामदारलाई २४ सै घन्टा बीमाको सुविधा उपलब्ध गराउन अाग्रह गरे । उनले नेपाली कामदारको विषयमा छलफल गर्न नेपालको तर्फबाट एउटा प्राविधिक टोली कतार पठाउने र त्यसको लागि कतार सरकारको आवश्यक सहयोग रहने अपेक्षा गरेकाे मन्त्रालयले जनाएको छ ।
कतारमा नेपाली श्रमिकको न्यूनतम वेतन वृद्धि, कामदारको बीमालगायत सामाजिक सुरक्षा र कामदारले पाउने सेवा, सुविधाको सुनिश्चितता एवं व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको विषयमा र आगामी दिनमा दुई देशबीच उच्चस्तरीय सम्झौता गरीे श्रमिक आदानप्रदान गर्ने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउने सन्दर्भमासमेत छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा राजदूत युशुफले शून्य लागतमा कामदार आपूर्ति गर्ने विषयमा कतार सरकार सकारात्मक रहेको बताएका थिए । राजदूत युशुफले नेपाली कामदारको सुरक्षाको विषयमा कतार सरकार जिम्मेवारीपूर्वक अघि बढ्ने बताएको मन्त्रालयले जनाएको छ ।