ऋण तिर्ने पैसा नभएपछि धनगढीका एक व्यापारीले अपहरणमा परेको नाटक गरेर आफ्नै परिवारसँग १५ लाख फिरौती मागेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
सेती अञ्चल अस्पतालका खरिदारसमेत रहेका स्थानीय फेन्सी व्यापारी जगतबहादुर सिंहले अपहरणमा परेको भन्दै भारतीय नम्बरबाट फोन गरेर आफ्नै परिवारसँग १५ लाख फिरौती मागेको खुलेको हो ।
धनगढी उपमहानगरपालिका–५ का ३९ वर्षीय सिंहले धनगढीकै अर्का एक व्यापारीको ऋण चुक्ता गर्न अपहरणमा परेको नाटक गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतको पन्जाब लुधियानाबाट पक्राउ गरेपछि उनको नाटक खुलेको हो ।
सिंहले धनगढीका एक व्यापारीको ऋण चुक्ता गर्न चेक दिएको, तर खातामा पैसा नभएकाले चेक बाउन्सको कारबाही हुने डरले अपहरणमा परेको नाटक गरेको बयान दिएका छन् । ‘पैसा नहुँदा अनादर चेक दिनुपरेको र समस्यामा पर्ने भएपछि आफन्तबाट भए पनि पैसा उठाउन अपहरणमा परेको नाटक गरी परिवारका सदस्यसँग फिरौती मागेको स्वीकार गरेका छन्,’ प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले भने ।
गत बुधबार हराएका सिंहले सोही दिन राति भारतीय नम्बरबाट परिवारलाई फोन गरेर आफू अपहरणमा परेको बताएका थिए । उनले आफ्नै खातामा पैसा जम्मा गर्न भनेपछि परिवारका सदस्यले सिंहको नाममा रहेको धनगढीको एनआइसी एसिया बैंकमा बिहीबार रकम जम्मा पनि गरिदिएका थिए ।
प्रहरीले भने सिंहले घरमा फोन गरेको भारतीय नम्बरको मोबाइलको लोकेसनका आधारमा खोजी सुरु गरेको थियो । ‘सिंहलाई भारतको लुधियानाबाट पक्राउ गर्यौँ,’ प्रहरी उपरीक्षक तिम्सिनाले भने, ‘बुझ्दा उनले आफू अपरहणमा परेको नाटक गरेका रहेछन् भन्ने खुल्यो ।’- नयाँ पत्रिका दैनिकबाट

685 पटक हेरिएको 

