चार वर्षअघि बन्द भएको तातोपानी नाका वैशाखभित्र खोल्ने तयारी

चार वर्षअघि गएको भूकम्पले क्षति पुगेपछि बन्द भएको तातोपानी नाका आगामी वैशाखभित्र खोल्ने चीन सरकारको तयारी रहेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

सोहीअनुसार लार्चास्थित सुक्खा बन्दरगाह, चीन जोड्ने कोदारी राजमार्ग र क्षतिग्रस्त मितेरी पुल वैशाखभित्रै पुनर्निर्माण सक्ने लक्ष्य चिनियाँ रेल वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड र तियान सुन रोड एन्ड ब्रिज कम्पनीको छ ।

तर, नेपालमा शरणार्थी जीवन बिताइरहेका तिब्बती नागरिकले चीनविरोधी गतिविधि गरे तातोपानी नाका सञ्चालनमा असर पर्ने चीनका एक सरकारी अधिकारीले बताए ।

चीन स्वशासित तिब्बतको सरकारको इन्फरमेसन डिपार्टका प्रतिनिधि ज्याङ वेन जीले तातोपानी नाकाको भ्रमण गरेका हुन् । ‘चीन–नेपालबीच पुरानो र असल छिमेकको सम्बन्ध भएकाले हामीले नेपालको विभिन्न नाकाबाट व्यापार गर्दै आएका छौँ,’ उनले भने, ‘तर, स्वतन्त्र तिब्बत गतिविधि बढेमा नाकाको सुरक्षाबारे सोच्नुपर्ने हुन सक्छ ।’ १० मार्च आसपास तिब्बती शरणार्थीले चीनविरोधी गतिविधि गर्न लागेको सूचाना पाएकाले तातोपानी नाका अवलोकन गर्न आएको उनले स्पष्ट पारेको जनाइएको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरमा समेत तिब्बती शरणार्थी रहेको जानकारी पाएको उनले बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार