भरतपुर विमानस्थलमा उपकरण थप गरिँदै

भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ । विमानस्थलमा हालसम्म जडान नभएका उपकरण भित्र्याइएको र विभिन्न संरचना निर्माण कार्य भइरहेका छन् ।

नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सञ्चार तथा सहायक उड्डयन विभागले लगेज स्क्यान गर्ने उपकरण खरीद गरी पठाएको नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले बताए । ९० लाख पर्ने सो उपकरण एक साताभित्रमा जडान भईसक्ने उनले जानकारी दिए ।

विमानस्थलमा लगेज स्क्यानर नहुँदा यात्रुको झोला खोलेर देखाउनुपर्ने बाध्यता रहेको छ । विमानस्थलको स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइएको छ । यसै क्रममा धावनमार्ग ‘ओभर ले’ गरिँदैछ । एक हजार २०० मिटरको धावनमार्गलाई निर्माण पछि हालसम्म ‘ओभर ले’ गरिएको छैन ।

अहिले साना जहाज चारवटा अटे पनि एटिआर र जेट स्टिम एक साइडमा एउटा मात्रै अटाउन सक्छन् । पार्किङ निकै साँघुरो भएको महसुस विगतदेखि नै हुँदै आएको बताउँदै गौतमले दुवैतर्फ कम्तीमा पनि २०/२० मिटर थप गर्न लागिएको बताए ।

बुद्ध, यती र सिम्रिक एयरलाइन्सले भरतपुर–काठमाडौँ दैनिक १० जहाज उडाउँदै आएका छन् । भरतपुर विमानस्थल आसपासका क्षेत्रमा ठूला संरचना बनेसँगै उडान र अवतरण कठिन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार