साँढे काटेर घाइते बनाएको अभियोगमा मुद्दा

महोत्तरी जिल्लामा साँढेलाई धारिलो हतियार प्रयोग गरी काटेको अभियोगमा प्रहरीले एक जनामाथि मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बस्ने इन्दल महरा चमारले धारिलो हतियार प्रयोग गरी साँढेको तीन खुट्टा काटेर घाइते बनाएको अभियोगमा उनलाई प्रहरीले प्रक्राउ गरी उनीमाथि अङ्गभङ्ग मुद्दा चलाइएको हो ।

प्रहरीका अनुसार महोत्तरीमा यो पहिलो घटना हो । इन्दल महरा चमारले आफ्नो घरमा पालेका गाई, बस्तुका लागि काटेर राखेको घाँस घरमा पसेर साँढेले खाइदिएपछि धारिलो हतियार लिएर साँढेको तीन खुट्टामा काटेर गहिरो घाउ बनाइदिएको हो ।

स्थानीय प्रशासनले सो साँढेको उपचार पशु स्वास्थ्य सेवा कार्यालय जलेश्वरमा गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार