एकीकरण टुंग्याउने ‘निर्णायक’ छलफलमा नेकपा, अन्तिम गृहकार्यमा शीर्ष नेता

नेपाल कम्युनिष्ट पार्टी नेकपाको दश महिनादेखि अल्झिएको एकीकरण प्रक्रियाको बाँकी काम केही दिनमै टुंगो लगाउने गरी शीर्ष तहमा ‘निर्णायक’ छलफल सुरु भएको छ । आजको नयाँ पत्रिका दैनिकमा छापिएको खबर अनुसार प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेताले केही दिनभित्रै एकीकरण टुंगो लगाउने गरी बिहीबारबाट छलफल सुरु गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहभागी थिए । उनीहरूबीच अढाई घन्टा छलफल भएको हो ।

पहिलो चरणमा जिल्ला अध्यक्ष र सचिवको सूची टुंगो लगाउन सचिवालय बैठकमा अनुमोदनका लागि प्रस्ताव लैजाने गरी ‘निर्णायक छलफल’ अघि बढेको नेताहरूले बताएका छन् । ‘एक–दुई दिनमै टुंगिन्छ कि टुंगिँदैन, तर फेरि छलफलको क्रम सुरु हुन खोजेको छ ।

विधि र मापदण्डका आधारमा पार्टीलाई एकताबद्ध गरेर लैजाने सोच हो भने छिट्टै टुंगिन सक्छ,’ बैठकपछि नेता नेपालले भने, ‘ढिलाइ भो, बैठक बसेन, भेटै भएन भने त हुन सक्दैन । तर, अहिले धेरै ढिलाइ भइसकेकाले दुई दिन होइन, आमचाहना एक दिनमै होस् भन्ने छ । अहिले त्यस दिशामै छलफल अघि बढ्ने सकारात्मक संकेत देखिएको छ ।’

एकीकरणको बाँकी कामसमेत टुंगो लगाउन बनेको नौ सदस्यीय कार्यदल भंग भएपछि नेकपाका शीर्ष नेताहरू छिटो एकीकरण टुंग्याउनुपर्ने दबाबमा छन् । एकीकरण अल्झिएपछि नेकपाको सांगठनिक गतिविधि ठप्प छ भने देशभरका करिब ८ लाख पार्टी सदस्य निष्क्रिय छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार