बोइङ ७३७ म्याक्स सिरिजका विमान उडानमा प्रतिबन्ध

एजेन्सी । अमेरिकी विमान निर्माता कम्पनी बोइङले ७३७ म्याक्स सिरिजका सबै विमानहरु उडानमा प्रतिबन्द लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आदेश जारी गर्दै बोइङ ७३७ म्याक्स सिरिजका विमानको उडान तत्काल स्थगन निर्देशन दिएका थिए ।
निर्देशनपछि अमेरिकी संघीय उड्ययन नियामक निकायले सो निर्णय गरेको हो ।

इथियोपियन एयरलाइन्सको विमान उडेको केही समयभित्रै दुर्घटना हुँदा त्यहाँ यात्रारत १५७ जनाको मृत्यु भएपछि विश्वव्यापी रुपमै बोइङ ७३७ सिरिजका विमानको उडान स्थगन गर्न थालिएको थियो । यही मोडेलको लायन एयरको विमान पनि छ महिनाअघि इन्डोनेसियामा उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको थियो ।

राष्ट्रपति ट्रम्पले क्यानडाका अधिकारीहरु, अमेरिकी क्यारियर्स र विमान निर्माता बोइङसँग पनि समन्वय गरी बोइङ ७३७ म्याक्सका उडान स्थगन गर्ने घोषणा गरिएको बताए ।

यसैबीच, बोइङले जारी गरेको विज्ञप्तिमा म्याक्स सिरिजका विमान पूर्ण सुरक्षित रहेको जनाउँदै भनिएको छ, “बोइङ ७३७ म्याक्सको सुरक्षाप्रति आफूहरुलाई पूर्ण आत्मविश्वास छ ।” कम्पनीले अमेरिकी नागरिक उड्डयन प्रशासनसँग बसेर विमानको सुरक्षा प्रबन्धबारे एउटा निष्कर्षमा पुगिने जनाएको छ ।

बोइङका प्रमुख कार्यकारी डेनिस मुलेनबर्गले कम्पनीले सचेततापूर्वक सक्रियताका साथ कार्य गरिरहेको बताएका छन् । अमेरिका सहित युरोपेली मुलुकहरु, चीन, सिंगापुर, अस्ट्रेलिया, भारत लगायतका विश्वका अधिकांश मुलुकले बोइङ ७३७ सिरिजका विमानहरुको उडान स्थगन गर्ने र आफ्नो आकाशबाट उड्न नदिने घोषणा गरिसकेका छन् ।

अब सो मोडलका ३७१ वटा विमानले उडान गर्नेछैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार