क्राइस्टचर्च मस्जिद आक्रमण : मुख्य आरोपीलाई अदालत पेश गरियो

न्यूजिल्यान्डको क्राइस्टचर्चमा शुक्रबार ४९ जनाको हत्या भएको मस्जिद आक्रमणका मुख्य आरोपीलाई शनिबार अदालतमा उपस्थित गराइएको छ । अष्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन टारेन्टलाई सो हत्याको अभियोगमा अदालत ल्याएको हो ।

अल नूर मस्जिदमा शुक्रबार दिउँसो १ः४० मा एकजना बन्दुकधारीले मूलढोकामा गाडी रोकेर भित्र छिर्दै प्रार्थना गरिरहेकाहरूमाथि पाँच मिनेट आन्धाधुन्ध बन्दुक चलाउँदा ४९ जनाको मृत्यु भएको थियो ।

उक्त घटनामा ४८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई वर्षीय र १३ वर्षीय बालक पनि रहेका छन् । उनीहरू सबैको क्राइस्टचर्च अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ११ जनाको अवस्था गम्भीर रहेको अस्पतालका शल्यक्रिया प्रमुख ग्रेग रोबर्टसनले बताएका छन् ।

न्यूजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले टारेन्टसँग पाँचवटा बन्दुकका लागि अनुमतिपत्र भएको बताउँदै भनिन्, ‘बन्दुकसम्बन्धी हाम्रो कानून अब परिवर्तन हुन्छ।’ अदालतले टारेन्टलाई एप्रिल ५ सम्मका लागि हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

घटनामा बङ्गलादेश, भारत र इन्डोनेसिया लगायतका नागरिक परेका बताइएको भएपनि उनीहरूको नाम सार्वजनिक गरिएको छैन । – सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार