काठमाडौं । होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर ट्राफिक प्रहरीले उपत्यकाका ७७ स्थानमा विशेष सवारी जाँच गर्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो । मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तिव्र गतिमा चलाउने, ठूलो आवाज निकालेर सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको व्यवस्था मिलाइएको प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

पन्तका अनुसार होलीलाई दुर्घटनारहित र मर्यादित बनाउन ५०० भन्दा बढी ट्राफिक प्रहरी खटाइनेछ । बिहान सातदेखि बेलुका सात बजेसम्म गर्ने सो कामका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुगमन, १९ वटा मोबाइल टोली र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गर्न लागिएको महाशाखाले जनाएको छ ।
सवारी साधन प्रयोग गरी लोला हान्नेलाई नियन्त्रणमा लिई कारवाही गर्नुका साथै होलीमा कारवाही परेका सवारी साधनलाई अनिवार्य कक्षामा सहभागी हुने व्यवस्था गरिएको छ।

722 पटक हेरिएको 

