काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताएका छन् ।
‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ‘त्रिशूली बी’ को सेयर आवेदन शुभारम्भ गर्दै प्रधानमन्त्री ओली सो बताएका हुन् । सो कार्यक्रममा उनले ठूला आयोजनामा जनताको लगानी बढाएर देशलाई स्वाधीन र समृद्ध बनाउन सकिने बताए ।

उनले भने,‘नेपाल ऊर्जाको धनी देश हो । पानीको सदुपयोग हुन नसकेको अवस्थामा यस्ता आयोजना सफल बनाउनुपर्छ । यसमा सहभागी हुन स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई म आग्रह गर्दछु ।’ प्रधानमन्त्री ओलीले विकासका लागि कसैसँग हात नथापी यस्ता आयोजनालाई नमूनाको रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता शेयरका लागि आवेदन दिएर सेयरको शुभारम्भ गरे। प्रधानमन्त्री ओलीले सेयरमा लगानी गरेको यो पहिलोपटक हो । जनताको जलविद्युत् कार्यक्रम गत फागुन २ गते उद्घाटन भएको थियो ।

891 पटक हेरिएको 

