काठमाडौं । सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संवादका निम्ति सरकार तयार रहेको बताए ।

विप्लब समूह भनेर चिनिने नेकपालाई दबाउने सरकारको नीति हो भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफमा उनले बमबारुदसँगै सम्पूर्ण हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण ढङ्गले राजनीतिक असन्तुष्टि समाधानका निम्ति वार्तामा आउन आग्रह गरे ।
हतियार कुनै समस्याको समाधान होइन, बुद्धभूमि नेपालमा अब अशान्ति र हिंसा होइन शान्तिको खाँचो भएको बाँस्कोटाले बताए ।
राष्ट्रिय सुरक्षा नीति, २०७५ बारेको प्रश्नको प्रत्युत्तरमा मन्त्री बाँस्कोटाले मुलुकको राष्ट्रिय आवश्यकता, परिस्थितिको विश्लेषण, देशको राष्ट्रियता सुदृढ तुल्याउनेलगायत विषय नै उक्त नीतिमा समेटिएको बताए ।

582 पटक हेरिएको 

