मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीविरूद्ध नियु बदरको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अब्दुल सलामले अन्सारीविरुद्ध आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् । मुद्दाको अन्तिम टुंगो नलागेसम्म आयोगको अध्यक्षमा रहेर अन्सारीलाई कुनै पनि प्रकारको काम कारबाही नगर्न नगराउन अन्तरिम आदेशको माग समेत गरिएको छ ।
उनीविरूद्ध संसदीय सुनुवाइ समितिमा नागरिकता नक्कली बनाएको, शैक्षिक प्रमाणपत्र किर्ते भएको तथा अध्यक्ष पदमा सिफारिस हुँदाका बखत राजनीतिक दलको सदस्यता लिएकोलगायतका उजुरी परेको थियो ।
तर, समितिले ती उजुरीबारे आवश्यक छानबिन नगर्नुका साथै उनका सम्बन्धमा कुनै निर्णय लिनसकेको थिएन । अन्सारी संघीय संसद्को संयुक्त बैठक र समितिको नियमावलीको नियम २६ (२) छिद्र बाटोबाट ४५ दिनको अवधि गुजारेर अध्यक्ष पदमा नियुक्त भएका हुन् ।
अन्सारी राजपाको सहमहामन्त्री छँदै स्थानीय तहको निर्वाचनका वेला १३ जेठ ०७४ मा तत्कालीन एमालेमा प्रवेश गरेका थिए । संसदीय समितिमा अन्सारीको नियुक्तिलाई लिएर चारवटा उजुरी परेको थियो ।

2102 पटक हेरिएको 

