ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका ठेकेदारहरुलाई समयमै आयोजना निर्माणको काम सक्न निर्देशन दिएका छन् ।
दोलखाको विगु गाउँपालिका वडा नम्बर १, गोंगरस्थित आयोजना निर्माणको स्थलगत अध्ययनपछि सरोकारित पक्षसंगको अन्र्तरक्रियामा मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् । राष्ट्रिय गौरवको आयोजनामा सरकार, संसद देखि सर्वसाधरण र शेयरहोल्डरको चासो तथा आयोजनाले मुलुकको सिंगो अर्थतन्त्रमा ठुलो प्रभाव पार्ने भएकाले यसको निर्माण समयमै सक्नुपर्नेमा उनले सरोकारवालाहरुलाई सचेत गराए ।

आयोजना निर्माणको क्रममा देखिने साना तिना समस्या समाधानका लागि निर्माण कार्यसंग जोडिएका सबै पक्षबीच निरन्तर छलफल र परामर्श हुनु अत्यावश्यक भएको भन्दै उनले मासिक रुपमा कार्यसमिक्षा बैठक बस्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए । स–सानामा समस्यामा अल्झेर सधँै आयोजनाको समय थप गर्दै लैजानु उपयुक्त नहुने भन्दै उनले प्रतिवद्धता अनुसार काम पुरा गर्ने तर्फ सचेत बन्न आग्रह गरे ।
उनले आन्तरिक छलफलबाट निकास निस्कन नसकेका विषयलाई सरकारले सम्बोधन गर्ने भन्दै २०७६ मंसिरमा परीक्षण उत्पादन सुरु गर्ने गरि निर्माण कार्यलाई तिब्रता दिनुपर्ने बताए । समयमै निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई सरकारले सधैँ सहयोग गर्ने भन्दै तिब्र गतिमा निर्माणकार्यमा लाग्न पनि उनले सचेत गराए ।
अन्तरक्रियामा आयोजनाका प्रमुख कार्यकारी विज्ञान प्रसाद श्रेष्ठले रकम अभाव नै आयोजनाको मुख्य समस्या भएको भन्दै रकमान्तर गरेर भएपनि आयोजनालाई आवश्यक बजेटको व्यवस्था मिलाउन मन्त्री पुनसंग आग्रह गरे ।
फागुन मसान्त सम्ममा आयोजनाको ९८ प्रतिशत निर्माण कार्य पुरा भएको छ । ४ सय ५६ मेगावाट क्षमताको मुलुककै ठुलो जलविद्युत् आयोजनामा भारतीय, चिनियाँ, यूरोपेली विज्ञहरु र कामदार तथा ठेकेदारहरु संलग्न छन् ।

2804 पटक हेरिएको 

