काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र महिना भित्र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहलाई नियन्त्रणमा लिने दावी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीको नाममा विकास निर्माणको काममा अवरोध पुर्याउने, कम्युनिस्ट पार्टीको सरकारलाई असफल बनाउन कोसिश गर्ने लगायतका चन्द नेतृत्वको नेकपाको अतिवादी विध्वंसात्मक गतिविधि सरकारलाई सैह्य नहुने चेतावनी दिए ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपाले हिंसा परित्याग नगरे नियन्त्रणमा लिने सरकारको नीति रहेको स्पष्ट पारे । उनले चन्द नेतृत्वको नेकपालाई राष्ट्रिय राजनीतिको मूल धारमा ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसका लागि सो समूहले हिंसा परित्याग नगरे सरकारले नियन्त्रण गर्ने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गर्न ढिलाई नगर्ने स्पष्ट पारे । उनले आजै बस्ने मन्त्रीपरिषद बैठकले शान्ति प्रक्रियाका बाँकि काम पूरा हुने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको पदाधिकारी चयनका लागि सिफारिस समिति गठन गर्ने पनि जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पार्टीको सांगठनिक एकीकरणको काम हुँदैनकि भनेर चिन्ता नगर्न आग्रह गरे । उनले पार्टीको तल्लो तहसम्मको एकीकरणको काममा ढिलाई भएको स्विकार गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै सो कामलाई पूर्णता दिने पनि बताए ।

2122 पटक हेरिएको 

