काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने भएको छ । दैनिक २१ घन्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घन्टामा सीमित हुने समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
मर्मत गरिने अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी रहेको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताए । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको छ । दैनिक १० घन्टा विमानस्थल बन्द हुँदा करिब २० प्रतिशत उडान कटौती हुने प्रवक्ता तिवारीले बताए ।

‘आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा गरी करिब २० प्रतिशत उडान कटौती हुने अवस्था छ,’ उनले भने, ‘पिच मर्मत गर्न विमानस्थल बन्द गर्नुपर्ने तथा खुला रहने समयमा पनि विमानस्थलको पार्किङ क्षमता तथा ह्यान्डलिङ क्षमतालाई ध्यानमा राखेर उडान तालिका बनाइएको छ ।’ विमानस्थलबाट अहिले दैनिक ३ सय ५० आन्तरिक र करिब १ सय अन्तर्राष्ट्रिय उडान भइरहेको छ । मर्मत अवधिभर भने नयाँ उडान तालिकाअनुसार दुवै गरी झन्डै ९० वटा उडान दैनिक कटौती हुने उनको भनाइ छ ।
एयर ट्राफिक बढ्ने सम्भावना
एयर ट्राफिक घटाउन गत जेठ ७ गतेदेखि त्रिभुवन विमानस्थलको सञ्चालन समय १८ घन्टाबाट बढाएर २१ घन्टा बनाइएको थियो । विमानस्थलको सञ्चालन समय बढाएसँगै एयर ट्राफिकमा कमी आउँदा यात्रुले सहज महसुस गरेका थिए । तर, फेरि विमानस्थलको सञ्चालन समय १४ घन्टामा खुम्चेपछि आकाशमा विमान घुमिरहनुपर्ने अवस्था निम्तिन सक्ने देखिएको छ ।
त्यसैले नेपालमा पर्यटकीय मौसम सुरु हुने समयमा विमानस्थलको सञ्चालन समय कटौती हुँदा त्यसको चाप उडानहरूमा पर्नेछ । एयर ट्राफिकको समस्या फेरि बल्झन गएमा त्यसले पर्यटकमा नकारात्मक छाप पर्ने नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष सुदर्शन न्यौपानेले बताए ।

451 पटक हेरिएको 

