११ वर्ष कैद र ७८ लाख बिगो दाबीसहित पूर्वआयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पाठकविरुद्ध ११ वर्ष कैद र ७८ लाख बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँडमा भएको अनियमितताबारे अख्तियारमा परेको उजुरी तामेलीमा राखिदिने भन्दै ७८ लाख घुस लिएको अभियोगमा उनीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको हो । संवैधानिक आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलो घटना हो ।

पाठकसहित उनलाई घुस दिने कलेज सञ्चालक लम्बोदरकुमार न्यौपानेलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । ‘दुवैजनालाई ७८ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ,’ प्रवक्ता कोइरालाले भने, ‘तर, सजायको माग दाबी भने फरक–फरक छ ।’ न्यौपानेलाई ८ वर्ष कैद माग गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० ‘ज’मा ५० लाखदेखि एक करोड रुपैयाँसम्म घुस लिनेलाई ६ वर्षदेखि आठ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । सोही ऐनका दफा २४ मा संवैधानिक अंगका पदाधिकारीलाई थप तीन वर्ष कैद सजाय हुने उल्लेख छ । सोहीअनुसार पाठकविरुद्ध ११ वर्ष कैद, ७८ लाखको सम्पत्ति जफत र ७८ लाख जरिवाना माग गरिएको छ । १०–२० हजार घुस लिनेलाई अख्तियारले करिब महिना दिनसम्म थुनामा राखेर मुद्दा चलाउने भए पनि पाठकलाई भने फरार अभियुक्तका रूपमा मुद्दा दायर गरी केही सहुलियत प्रदान गरेको छ ।

आफूले लिएको घुस फिर्ता गर्ने भनेर पाठकले बोलेको भिडियो, फोन संवाद र साक्षीहरूको भनाइलाई प्रमुख प्रमाणका रूपमा अख्तियारले अदालतमा पेस गरेको छ । यद्यपि, पाठकले भने आफूले घुस लिएको अस्वीकार गरेका छन् ।

घुस लिएको पुष्टि हुने भिडियो सार्वजनिक भएपछि पाठकले ३ फागुनमा राजीनामा दिएका थिए । सत्तारुढ नेकपाका सांसदहरूले महाअभियोग लगाउने तयारीपछि उनले राजीनामा दिएका थिए । राजीनामा दिएको अवस्थामा संवैधानिक आयोगका पूर्वअधिकारीमाथि आयोगले छानबिन गर्न सक्ने कि नसक्ने संवैधानिक अस्पष्टतापछि अख्तियारले महान्यायाधिवक्ता कार्यालयसँग राय लिएको थियो ।

अनुसन्धान गर्न सक्ने महान्यायाधिवक्ता कार्यालयको रायपछि ७ फागुनमा अख्तियारले सहसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । छानबिन सुरु भएको ३५औँ दिनमा मुद्दा दायर भएको हो । अख्तियारले पाठकको बयान लिएको छ भने न्यौपाने एक दिन बयान दिएर फरार भएका थिए । २७ फागुनमा बयान दिन गएका उनी भोलिपल्टै भारत भागेका थिए । उनको म्याद तामेल भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार