काठमाडौं । सरकारले लगानी सम्मेलनलाई एउटा उत्सवका रूपमा सम्पन्न गर्दै नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्ने भएको छ । अर्थमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले सम्मेलन सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन महत्वपूर्ण अवसरका रूपमा स्थापित हुने बताए । सम्मेलन यही चैत १५ र १६ गते आयोजना गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसङ्घका पदाधिकारी लगायतको उपस्थिती रहेको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले सम्मेलन सबै नेपालीको साझा अभियान भएको र देशमा वैदेशिक लगानी भित्र्याउन यो महत्वपूर्ण अवसर रहेको बताए ।
सम्मेलनमा सरकारका ५० र निजी क्षेत्रका २५ गरी कूल ७५ परियोजनालाई ‘शो केश’ मा राखिने र नेपाल लगानीका लागि अनुकूल अवस्थामा छ भन्ने सन्देश दिन लागिएको उनले बताए ।
सम्मेलनका क्रममा नै एक दर्जन बढी परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागी हुनेछ ।

705 पटक हेरिएको 

