हावाहुरीले नेपाल विद्युत् प्राधिकरणको पूर्वाधारमा १५ करोडको क्षति

बारा । बारा–पर्साको दक्षिणी भेगमा हावाहुरीले नेपाल विद्युत् प्राधिकरणको प्रसारण तथा वितरण पूर्वाधारमा झन्डै १५ करोड रुपैयाँको क्षति पुगेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार प्रसारण तथा वितरण लाइन, ट्रान्सफर्मर र सबस्टेसनमा क्षति पुग्दा बारा–पर्सा क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

भारतबाट विद्युत् आयात गरिरहेको रक्सौल–परवानीपुर ९बारा० १३२ केभी प्रसारण लाइनको टावर नै ढलेको छ भने तार चुँडिएको छ । यो प्रसारण लाइनमार्फत प्राधिकरणले आवश्यकताअनुसार ५० मेगावाटसम्म विद्युत् आयात गर्दै आएको थियो ।

त्यस्तै, भारतबाट विद्युत् आयात गरिँदै आएको रक्सौल–वीरगन्ज ३३ केभी प्रसारण लाइन मर्मतपछि सञ्चालन भएको छ । यो लाइनमार्फत १२ मेगावाटसम्म विद्युत् आयात गरिँदै आएको छ । यसबाट आयात भएको बिजुली कलैया केन्द्रले वितरण गर्ने भए पनि हाल परवानीपुर–वीरगन्ज ६६ केभी अवरुद्ध भएकाले वीरगन्ज केन्द्रले वितरण गरिरहेको छ । यो लाइनबाट आएको विद्युत् अस्पताल, खानेपानी, टेलिफोनलगायत अत्यावश्यक सेवालाई प्राथमिकतामा राखेर वितरण गरिएको छ ।

कलैया वितरण केन्द्रका १५ सय पोल ढले, १० दिनभित्र सञ्चालन गर्ने लक्ष्य
कलैया वितरण केन्द्रअन्तर्गत मात्र झन्डै १५ सय पोल ढलेको अनुमान गरिएको केन्द्रका प्रमुख गजेन्द्रकुमार चौधरीको छ । उनले २० भन्दा बढी ट्रान्सफर्मरमा क्षति पुगेको बताए । तर, सदरमुकाम कलैयास्थित सबस्टेसनमा भने सोमबार नै चन्द्रनिगाहापुरस्थित सबस्टेसनबाट विद्युत् प्रवाह गरी बजार क्षेत्रमा आपूर्ति गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार