नयाँ वर्षमा प्रधानमन्त्रीको सम्बोधन: ‘विकासको लागि समयको गतिसँगै क्रियाशिल छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीका नाममा सम्बोधन गरेका छन्। देशवासीका नाममा आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट गरेको सम्बोधनमा प्रधानमन्त्री ओलीले समयको गतिसँगै मुलुकलाई विकासमा अगाडि बढाउन आफू क्रियाशील रहेको बताएका छन् । उनले विकासमा लामबद्ध हुन सबैलाई आह्वान समेत गरेका छन्।

सम्बोधनमा उनले भनेका छन, ‘समयको गति समाउन मैले पनि आफूलाई यो तीव्र गतिको दौडमा सामेल गरिरहेको छु।’ प्रधानमन्त्री ओलीले गएको वर्ष २०७५ मा आफू मुलुकका विभिन्न भागमा पुगेर त्यहाँबाट विकास गर्नकालागि प्रेरणा बोकेर आएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले वर्ष २०७५ कानुन निर्माण र समृद्धिको जग बसाल्ने वर्ष भएको र अबको वर्ष त्यसबाट प्रतिफल प्राप्त गर्ने वर्ष हुने दाबी गरेका छन् । सरकारले केही गरेन भनेर गुनासो गर्नुभन्दा पनि के के काम गरेको छ भनेर प्रश्न गर्न र गरेका कामबाट जनतालाई कति फाइदा भयो भन्ने प्रश्न गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन्।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारको अन्त्यका लागि काम गरेको बताए। उनले मुलुकमा शान्ति स्थापनाका लागि पनि महत्वपूर्ण काम भएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार