चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ । स्याण्डविच कार्यक्रमअन्तर्गत श्रीलङ्का र स्विडेनबाट चट्याङमा विद्यावारिधि गरेका डा श्रीराम शर्माका अनुसार २०६८ देखि २०७४ सालसम्म गरिएको अध्ययनमा नेपालमा हरेक वर्ष चट्याङकै कारण ११० ले ज्यान गुमाउँदै आएका छन् । उनका अनुसार सावधानी अपनाउन सके चट्याङबाट बच्न सकिन्छ । यस्ता छन् बच्ने उपाय ।
– घर र भवनमा विद्युतीय सुचालकको प्रयोग गरेर आकाशदेखि जमिनसम्म सजिलो बाटो उपलब्ध गराउन सके चट्याङको जोखिमबाट बच्न सकिन्छ ।
-घरका विद्युतीय सामानको अर्थिङ गर्दा टाढाबाट विद्युतीय तार र टेलिफोनका तारमार्फत आउने करेन्टबाट बचाउन सकिन्छ ।
-घरमा विद्युतीय सामानसहित सम्पूर्ण भवनको चट्याङ प्रतिरक्षा सामग्री जोड्नुपर्छ। घरको माथि रड राखेर त्यसलाई तामा वा ग्याल्मोनाइज आल्मोनियमको पाता अथवा रडमार्फत जमिनमुनिसम्म पुर्याउन उनले सुझाव दिए । करीब आठ फिट गहिरो खाल्डो खनेर तामाको रड वा पातामा जोड्नुपर्ने हुन्छ ।
-खाल्डोमा पहिले कोइला र नुन राख्ने गरे पनि त्यसले पाता बिगार्ने हुँदा त्यसका लागि बनेको छुट्टै रसायन राख्नुपर्ने हुन्छ ।
-घर बाहिर हुँदा खुला ठाउँमा रहेमा टाउको र खुट्टा जोडेर गोलो परेर बस्नुपर्ने हुन्छ । रुखको नजिक नबस्न, बिजुली र फोनको पोल, अग्ला भवन नजिक बस्न हुँदैन । विद्युतीय सामग्री प्लगमा नजोड्न र ल्याण्डलाइन फोनमा कुरा गर्नु हुँदैन । तर मोबाइल फोन भने चलाउन सकिन्छ ।
-गाडीमा रहेमा सिसा लगाएर बस्नु पर्छ । धातुका गाडी सुरक्षित हुने भए पनि प्लाष्टिकका गाडी असुरक्षित हुने विज्ञको भनाइ छ ।
-खेतमा पानीमा काम नगर्न र पौडी खेल्नु हुँदैन। घरभित्र बस्दा झ्याल र भित्ता नजिक बस्न हुँदैन भने धाराका पानीमा करेन्ट आउनसक्ने भएकाले पानी खेलाउन हुँदैन ।

653 पटक हेरिएको 

