झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा एक नाबालकको मृत्यु भएको छ । मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीको मृत्यु भएको हो । प्रहरीले यसलाई आत्महत्या भनेपनि आफन्तले भने यातनाबाट बालकको मृत्यु भएको दाबी गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
किरण पक्राउ परेको र हिरासतमा राखिएको जानकारी प्रहरीले उनका परिवारलाई नै दिएको थिएन । मृत्युपछि पनि परिवारलाई थाह नदिई शंकास्पद रूपमा रातारात शव पोस्टमार्टम गरेको थियो । बिर्तामोड प्रहरीले झुन्डिएर आत्महत्या गरेको दाबी गरेको छ । तर, हिरासत कक्षमा झुन्डिन मिल्ने ठाउँ छैन ।
प्रहरीले किरणलाई हिरासतमा गैरकानुननी रूपमा राखेको थियो । अदालतबाट म्याद थपसमेत नगरी तीन दिनसम्म हिरासतमा राखेको खुलेको छ । जब कि बयानका लागि २४ घन्टाभन्दा बढी हिरासतमा राख्न अदालतबाट म्याद थप गर्नुपर्छ । प्रहरीले किरणका परिवारलाई समेत थाहा नदिई मेची अञ्चल अस्पताल भद्रपुर लगेर शव पोस्टमार्टम गरेको छ । पोस्टमार्टमपछि मात्रै किरणका बुबा रमेश कार्कीडोली दर्जीलाई प्रहरीले शव बुझ्न बोलाएको थियो ।
२९ चैतको साँझ ६ बजे किरणलाई बिर्तामोडका केही स्थानीयले मोबाइल चोरीको आरोप लगाउँदै प्रहरीको जिम्मा लगाएका थिए । बिर्तामोड इलाका प्रहरी कार्यालयका डिएसपी सुवास खड्काको निर्देशनमा उनलाई हिरासतमा राखियो । चोरी घटना स्विकार्न लगाउन प्रहरीले कुट्दा १ वैशाखको राति हिरासतमै उनको ज्यान गएको हुनसक्ने आफन्तको अनुमान छ । किरणको मृत्युपछि अप्ठ्यारोमा पर्ने डरले प्रहरीले अभिभावकलाई समेत थाहा नदिई अस्पताल लगेर शव पोस्टमार्टम गरायो ।
घटनाको भोलिपल्ट २ वैशाख बिहान १० बजे मात्र मृत्युको खबर लिएर प्रहरी किरणका बाबु रमेशलाई खोज्दै मेचीनगर–६ स्थित घर पुगेको थियो । किरणले हिरासतमा आत्महत्या गरेको र शव अस्पताल लगेर पोस्टमार्टमसमेत गरिसकेको प्रहरीले बताएपछि रमेश सशंकित भए । प्रहरीले लुकाउन खोजेको घटना मृतकका परिवारकै कारण सार्वजनिक भएको छ ।

536 पटक हेरिएको 

