बिस्केट जात्राको रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते

भक्तपुर । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम बिहीबार गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ जना घाइते भएका छन् ।

घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर चोछे बस्ने १७ वर्षीय उमेश कुमार, काभ्रे मण्डन देऊपुर नपा–२ देउपुर घरभई हाल भक्तपुर व्यासी बस्ने २३ वर्षीय विकास तामाङ, भनपा–६ इताछे बस्ने १८ वर्षीय मनीष कासुला, भनपा–२ इताछे बस्ने १८ वर्षीय रिमेश शाही रहेका छन् ।

त्यस्तै रथबाट खसेर भक्तपुर नगरपालिका–५ चोछेका ३० वर्षीय पुण्यराम सितिखु घाइते भएका छन् । रथलाई सुकुलढोका पुर्याएपछि सामान्य ढुङ्गा हानाहान भएको र स्थिति आफैँ नियन्त्रणमा आएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

उनले केही ढुङ्गा हानाहान, केही रथबाट खसेर र केही रथको डोरी तान्ने क्रममा घाइते भएको जानकारी दिए। हिजो साँझ ५ बजेबाट गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले तान्न सुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पुर्याएर एउटा घरमा रथ ठोक्किएपछि ढुङ्गा हानाहान भएको हो । रथ तान्ने क्रममा घाइते भएकाको भक्तपुर अस्पतालमा उपचार भएको प्रनाउ पोखरेलले जानकारी दिए ।

स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुनः रथ तान्न सुरु भएको थियो । बिहान ४ बजे वंशगोपाल मै रथलाई छाडेर रथबाट देवतालाई झिकेर भैरव मन्दिर लगिएपछि जात्रा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार