काठमाडौं । रानीपोखरी निर्माणमा काठमाडौं महानगरपालिकाले दुई करोड घाटा व्यहोरेको छ । रानीपोखरी पुनर्निर्माण गर्न १० वैशाख ०७३ मा निर्माण व्यवसायी वर्ल्डवाइडरकँडेलरके एन्ड केजी जेभीसँग ६ करोड २९ लाखमा सम्झौता भएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
काम सुरु गर्न महानगरले दुई करोड तीन लाख भुक्तानी गरेको थियो । तर, पुरातत्व विभागले परम्परागत शैलीमा बनाउन निर्देशन दिएपछि करिब दुई वर्षपछि १२ पुस ०७४ मा ठेक्का रद्द भयो । जसका कारण निर्माण कम्पनीलाई भुक्तानी गरेको रकम महानगरलाई नोक्सानी भएको महालेखाले औँल्याएको छ ।

महालेखापरीक्षकले हालै सार्वजनिक गरेको ५६औँ वार्षिक प्रतिवेदनअनुसार काठमाडौं महानगरपालिकाले ०७४र७५ मा सुविधाको क्षेत्रमा तोकिएको बजेटभन्दा १६१ प्रतिशतसम्म बढी खर्च गरेको छ । जलपानमा मात्रै करिब एक करोड १३ लाख खर्च गरेको छ ।
पदाधिकारी र कर्मचारीको सुविधामा बजेटको सीमा नाघेर खर्च गरिरहँदा महानगरले जनसरोकार र पूर्वाधार विकासमा भने अत्यन्तै न्यून बजेट मात्र खर्च गरेको छ । ढल निकास शीर्षकमा १५ करोड विनियोजन गरेकोमा ९१ लाख अर्थात् ६ प्रतिशत मात्रै खर्च गरेको छ ।
सडक तथा फुटपाथमा विनियोजित बजेटको १० प्रतिशत मात्रै खर्च गरेको छ । महानगरले उक्त शीर्षकमा एक अर्ब २४ करोड विनियोजन गरे पनि १३ करोड ८४ लाख मात्रै खर्च गरेको छ ।

464 पटक हेरिएको 

