पेट्रोल र डिजेल वितरणका लागि नयाँ पम्पको लाइसेन्स खुल्दै

काठमाडौं । आयल निगमले पेट्रोल र डिजेल बिक्री गर्ने नयाँ पम्पको लाइसेन्स खुला गर्ने भएको छ । पेट्रोलपम्प सञ्चालनसम्बन्धी विक्रेता विनियमावली संशोधन गरेर कर्णाली प्रदेश र नयाँ खुलेका राजमार्गलाई लक्षित गरी पम्प सञ्चालनको लाइसेन्स दिन लागिएको हो । हाल देशभर १ हजार ४ सय ८० पम्प सञ्चालनमा छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

निगमले पम्प लाइसेन्स वितरणलाई सहज पार्ने गरी विनियमावली संशोधन गरेको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतले तोकिएको मापदण्ड पूरा गरेर पम्प सञ्चालन गर्न खोज्ने सबैलाई लाइसेन्स दिन लागेको बताए ।

पुरानो विनियमावलीमा देखिएको केही विकृत प्रावधान सुधार गरेर नयाँ ल्याइएको निगमले जनाएको छ । निगममा नयाँ नेतृत्व आएपछि पम्पको लाइसेन्स खुला गरेर मोटो रकम असुल्ने विकृति थियो । अब भने त्यसको अन्त्य हुने निगमको दाबी छ ।

निगममा नयाँ कार्यकारी निर्देशक सुरेन्द्र पौडेल आएपछि भने विनियमाली संशोधन गरेर लाइसेन्स वितरणमा दिगो विधि विकास गरिएको प्रवक्ता गोइतले जानकारी दिए ।

देशभर इन्धन उपलब्ध गराउने वितरण विभागका प्रमुख रहेका गोइतले नागरिकको समस्या बुझेर विनियमावलीमा धेरै सुधार गरिएको दाबी गरे । मुलुकभर पेट्रोलियम पदार्थको खपत बढ्दो छ । त्यसकारण पनि पम्प संख्या थप्नुपर्ने बाध्यता छ । हाल दैनिक १५ लाख लिटर पेट्रोल र ४८ लाख लिटर डिजेल खपत हुँदै आएको पेट्रोलियम व्यवसायीको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार