नेकपा सचिवालय बैठकले दियो सरकारलाई यस्तो सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बालुवाटारमा बसेको सचिवालय बैठकले ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई व्यवहारमा अनुवाद हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले सो सुझाव दिएको हो । आगामी २० वैशाख शुक्रबार नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने सरकारको तयारी छ । सोही नीति तथा कार्यक्रम ल्याउँदा मुलुकमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई व्यवहारमा अनुवाद गर्ने गरी ल्याउन सरकारलाई सुझाव दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा नेताहरुले मूलतः संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख समृद्धि, निर्वाचनमा बेला पार्टीले जारी गरेको घोषणा-पत्र र सरकारले हालसम्म गरेका सकारात्मक कामहरुको उपलब्धिहरुको रक्षा र विस्तार हुने कुरामा केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

संघीय संसदको वर्षे अधिवेशन सोमबारबाट सुरु हुँदैछ । आगामी शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सरकारले सोही कार्यक्रमको आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ । संविधान अनुसार आगामी जेठ १५ गते सरकारले संघीय संसदमा बजेट पेश गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार