लागू भएको एक वर्ष नपुग्दै अपराधसंहिता संशोधन, आधा कैद छुट दिने व्यवस्था

काठमाडौं । गत भदौबाट लागू भएको नयाँ मुलुकी अपराधसंहिता सरकारले संशोधन गरेर आधा कैद छुट दिने व्यवस्था गरेको छ । फौजदारी कसुर (कैद कट्टासम्बन्धी) नियमावली बनाएर ५० प्रतिशत कैद मिनाहाको व्यवस्था गरेको हो । योेै समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
नयाँ मुलुकी अपराधसंहितामा कुनै पनि अपराधमा न्यूनतम ७५ प्रतिशत कैद भुक्तान गरेपछि मात्र बाँकी कैद मिनाहा गर्न सकिने प्रावधान राखिएको थियो । विगतमा बढी छुट दिँदा अपराध बढेपछि ७५ प्रतिशत कैद अनिवार्य व्यवस्था गरिएको थियो । तर, अहिले कारागारमा क्षमताभन्दा धेरै कैदी हुँदा व्यवस्थापनमा समस्या भएको कारण देखाएर कानुनी व्यवस्था संशोधन गरिएको छ । जघन्य अपराधका मुद्दामा भने आधा कैद मिनाहा लागू हुनेछैन ।

‘मन्त्रिपरिषद्बाट कैद कट्टासम्बन्धी नियमावली पारित भइसकेको छ, अब जघन्य किमिसका मुद्दाबाहेक अन्य मुद्दाका कैदीको चालचलन असल भएमा ५० प्रतिशतसम्म कैदकट्टी हुन सक्छ,’ कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिकुमार मैनालीले भने, ‘राजपत्रमा प्रकाशित भएपछि यो कार्यान्वयन हुनेछ ।’ जस्तै, १० वर्ष कैद सजाय तोकिएको व्यक्ति पाँच वर्षमै जेलमुक्त हुन सक्छन् ।

नयाँ अपराधसंहिताअनुसार विभिन्न १५ किसिमका मुद्दामा भने ५० प्रतिशत कैद मिनाहा लागू हुँदैन । हत्या, जबर्जस्ती करणी, भ्रष्टाचार, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना तथा अमानवीय व्यवहार र मानवताविरुद्धको अपराधमा ५० प्रतिशत कैद छुट हुनेछैन । त्यस्तै, राज्यविरुद्धको अपराध, युद्धअपराध, बहुविवाह, कैदबाट भागे–भगाइएको मुद्दाका अभियुक्तले पनि छुट पाउँदैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार