काठमाडौं । लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नभएको भन्दै बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन् ।
स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त बनेको छ । आन्दोलनमा उत्रिएका स्थानीयवासीले चावहिल–साँँखु सडकखण्ड तत्काल कालोपत्र गरी धुवाधुलोबाट मुक्त गराउनुपर्ने माग गरेका छन् ।
विगत चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा सयौँ व्यवसायी विस्तापित भएको स्थानीय व्यवसायी तथा बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले बताए । चौलागाईंले सडक धुलाम्मे र हिलाम्मे हुँदा व्यापार व्यवसाय ठप्प भएको मात्र नभई करोडौँ लगानी गर्ने दर्जनौँ व्यवसायी पलायन हुनुपरेको पीडा सुनाए।
लामो समयदेखि सडकमा पानी हालेर धुलो कम गर्ने गरिरहेको बौद्ध व्यापार सङ्घले सो क्रममा पानी किन्न मात्र करीब रु ८० लाख खर्चिएको दाबी गरेको छ ।

401 पटक हेरिएको 

