काठमाडौं । गम्भीर आर्थिक संकटको कारण थला परेको साझा प्रकाशनका कर्मचारीले १४ महिनादेखिको तलब बुझ्न पाएका छैन । तलब खान नपाएपछि १२९ जना कर्मचारीको दैनिकी समस्याग्रस्त बन्दै गएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
दुई महिना अघि २०७४ साल फागुनको तलब थापेका उनीहरूले त्यसपछि एक रुपैयाँ लिएका छैनन्। ‘क्षेत्रीय कार्यालयका केही कर्मचारीको त केही महिनाको मात्र बाँकी होला , हामीले त १४ महिनादेखि पाएका छैनौँ’,एक कर्मचारीले भने। तत्कालीन महाप्रबन्धक एवं अध्यक्ष डोलिन्द्रप्रसाद शर्मालाई कारबाही गरेपछि प्रमुख खाली भएको साझा प्रकाशनमा कृषि मन्त्रालयका सहसचिव रघुराम विष्टलाई अध्यक्ष र सहकारी मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीलाई महाप्रबन्धकको जिम्मा दिइएको छ ।

जर्जर भएको संस्थालाई सञ्चालन गर्न र समयमै कर्मचारीको तलब व्यवस्था गर्न खटाइका दुई उच्च अधिकारीले सरकारसँग कार्यालय सञ्चालन र अवकास भएका कर्मचारीको उपदानको व्यवस्था गर्न रकम माग गरेका छन्। पंगेनीले भने, ‘चल्दै नचलेको संस्थालाई दैनिक रूपमा सञ्चालन गर्न र अवकास भैसकेका कर्मचारीलाई उपदान र अन्य सुविधा दिन अर्थ मन्त्रालयसँग १७ करोड ७८ लाख रुपैयाँ माग गरेका छौँ।’ रकम विनियोजन भए लामो समयदेखि अवकाश पाएका कर्मचारीको समस्या सधैँको लागि समाधान हुने दाबी गरे।
अवकाश भएका कर्मचारीले आफ्नो सुविधा माग गदै दर्जनौ पटक आन्दोलन गरिसकेका छन्। माग गरेको रकममध्ये करिब १० करोड अवकाश भएका कर्मचारीको उपदानमा खर्च हुन्छ । बाँकी रकम कर्मचारी र कार्यालय सञ्चालन गर्न पुग्ने अनुमान गरिएको छ । हाल साझामा एक कप चिया खुवाउने समेत रकम छैन।

456 पटक हेरिएको 

