झापाको कनकाई पुलमा प्रेसर कुकर बम फेला

झापा । गोर्खा नेपाल जनमुक्ति मोर्चाले झापाको कनकाई नदीको पुल नजिकै प्रेसर कुकर बम राखेको खुलेको छ। प्रेसर कुकर बमनजिकै मोर्चाले राखेको पर्चा फेला परेपछि यस्तो घटना खुलेको हो । नदीको पूर्वतर्फको मुखैमा आइतबार बिहान प्रेसर कुकर बम भेटिएको हो । बम फेला परेसँगै कन्काई पुलको दुबैतर्फ सयौँको संख्यामा सवारीसाधन रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोर्चाको पर्चामा सुगौली सन्धि मार्फ नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अंगीकृत नागरिकता फिर्ता, संघीयता खारेज गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही, निशुल्क शिक्षा र उपचारसहितको माग उल्लेख गरिएको छ।

मोर्चाले नै बम राखेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार आइतबार बिहान ५ बजे मर्निङवाकमा निस्किएका मानिसले कनकाई नगरपालिका २ स्थित कनकाई पुल नजिकै बोराले बेरिएको प्रेसर कुकर बम देखिएको भनेर प्रहरीलाई खबर गरेका थिए।

प्रहरी टोलीले सडक बन्द गरी प्रेसर कुकर बम राखिएको स्थानमा घेरा हालेर सुरक्षा प्रदान गरेका थिए । मेचीनगरस्थित श्रीनाथगण चारआलीबाट आएको नेपाली सेनाले प्रेसर कुकुर बमलाई नदीमा लगेर बिहान ८:३० मिनेटमा डिस्पोज गराएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार