बजेट अर्धनिन्द्रामा भएको मान्छेले हाई काड्दै लेखेको जस्तो : डा भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नवगठित समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता निर्माण गर्दा अर्थमन्त्री स्वयंले आफैमाथि न्याय नगरेको बताए ।

आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथि प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको छलफलमा भट्टराईले अर्धनिन्द्रामा भएको मान्छेले लेखे जस्तो देखिएको भन्दै उनले बजेटका सिद्धान्त र प्राथमिकतामा बैचारिक अलमल र अस्पष्टता रहेको बताए । उनले भने ‘अर्धनिन्द्रामा भएको मान्छेले हाई काड्दै अल्छि लागि लागिकन निबन्ध लेखेजस्तो कर्मकाण्डी प्रकारको दस्तावेज आयो।

बिरालो बाँधेर श्राद्ध गरे जस्तो गरि सरकारले बजेटका प्राथमिकता र सिद्धान्त निर्धारण गरेको उनको भनाई थियो । उनले नीति तथा कार्यक्रममा जस्तै सिद्धान्त र प्राथमिकतामा चालु आर्थिक वर्षका बारेमा सरकारले गरेको विश्लेषण तथ्यसँग मेल नखाएको बताए ।

संघीयता कार्यान्वयनको सिंगो पक्ष बाँकी नै रहेको तथा ‘संविधान संसोधनको औचित्य छैन सबै सहमत भईसके’ भन्नुले नीति तथा कार्यक्रममा सरकारको दम्भ देखिएको उनले बताए । व्यापार घाटा बढेको अवस्थामा निर्यातमा सुधार आएको विषय सत्य नभएको उनले दाबी गरे । उच्च परिमाणमा आन्तरिक तथा बाह्य लगानी परिचालन भएको भन्ने सत्य नभएको उनको टिप्पणी थियो ।

सन् २०३० अगावै दीगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य राम्रो भएपनि त्यसको आधार स्पष्ट नभएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार