काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन्। भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा नाम प्रान्तमा आज आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।
गौतम बुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल भएकाले सबै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एक पटक लुम्बिनीको भ्रमण गर्नुपर्नेमा उनले जोड दिए।
‘बौद्ध धर्मावलम्बीको विश्व नेतृत्वतर्फ प्रयास र दिगो विकासका लागि जिम्मेवारी साझेदारी’ नाराका साथ उद्घाटन भएको तीनदिने सो कार्यक्रममा भियतनामका प्रधानमन्त्री न्गुुएन सुआन फुकले विश्वमा शान्ति र समन्वय स्थापना गर्न सो कार्यक्रम भियतनामको महत्वपूर्ण प्रयास भएको बताए ।
राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सो कार्यक्रमको सफलताको सन्देश पठाउँदै विश्वमा शान्ति र दिगो समाजका लागि शुभकामना व्यक्त गर्नुभएको पत्र पढेर सुनाइएको थियो । भियतनामले वैशाख दिवस बनाएको यो तेस्रो पटक हो । यसअघि सो मुलुकले सन् २००८ र २०१४ मा यस्तै कार्यक्रम आयोजना गरेको थियो । विश्वका ११२ मुलुकबाट करीब १० हजार प्रतिनिधिले सो कार्यक्रममा भाग लिइरहेका छन् ।

431 पटक हेरिएको 

