आज २६ औं मदन–आश्रित स्मृति दिवस

काठमाडौं । आज जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस । नेपाल कम्युनिस्ट पार्टी नेकपाले २६ औं मदन आश्रित स्मृति दिवस मनाउँदैछ। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले यो वर्ष सो दिवस मनाउन थालेको हो।

घटनाका विषयलाई लिएर थुप्रै चर्चा परिचर्चा चलिरह्यो । तर, दासढुङ्गामा मदन–आश्रितको शालिक भएको स्थान र शव प्राप्त भएको गाँजीपुरको समेत उचित संरक्षणमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो। घटनाका एकमात्र जीवित सवारी चालक अमर लामाको १० वर्षपछि हत्या गरियो । लामाको हत्याले घटनालाई अझै रहस्यमय बनायो । दासढुङ्गा घटनापश्चात पूर्वसांसद स्व जागृतप्रसाद भेटवालको संयोजकत्वमा दासढुङ्गा व्यवस्थापन समिति गठन भएको थियो ।

समितिले शुरुआतका चरणमा केही काम गरे पनि ठोसरूपमा दीर्घकालीन काम हुनसकेको छैन । सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउन लागेको हो। दिवसका अवसरमा शुक्रबार तत्कालीन एमालेको पुरानो पार्टी मुख्यालय मदननगर बल्खुमा माल्र्यापण कार्यक्रमको आयोजना गर्दै छ।

स्वर्गीय भण्डारीको प्रतिमासँगै आश्रितको तस्बिरमा पनि माल्यार्पणको कार्यक्रम राखिएको छ। गत वर्षको जेठ ३ गते नै दुवै पार्टीको एकीकरण भएको थियो। सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेकपाका अन्य नेता पनि सहभागी हुने तयारी छ।

कार्यक्रमा जीवराजकी पत्नी माया ज्ञवाली सहभागी हुने तयारी रहेको छ। मदनकी श्रीमती विद्यदेवी भण्डारी हाल मुुलुकको राष्ट्रपति रहेकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार