काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मदन भण्डारीको तत्कालीन अवस्थाका पुराना कुरालाई नदोहो-याई नयाँ परिस्थितिको विश्लेषण गरेर, नयाँ चुनौतीको सामना गरेर अघि बढेको उल्लेख गर्दै अब पार्टीले पनि अहिलेको चुनौतीलाई सामना गर्ने गरी नयाँ ढंगले अघि बढनुपर्ने आवश्यक्ता रहेको बताए ।
२६औँ मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सर्न्दभमा शुक्रबार काठमाडौंको मदननगर बल्खुमा आयोजित कार्यक्रममा उनले भने, ‘मदन भण्डारीले जे–जे भन्नु भयो, त्यही कुरालाई दोहो-याई राख्ने कि नयाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय चुनौतीहरुको सामना गरेर अघि बढ्ने ?’ उनले पुरानै मान्यतालाई छोड्न नसक्ने केही पुराना कम्युनिस्ट नेताहरुले नेपाली क्रान्ति र समाजका लागि सिन्कोसमेत योगदान गर्न नसकेको दावी गरे ।

अन्तर्राष्ट्रिय रुपमा मार्क्सवाद सङ्कटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्षलाई अन्त्य गर्न नयाँ विचारको प्रयोग गरेका कारण उनी लोकप्रिय भएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘पुराना सिद्धान्तलाई समयसापेक्ष विकास गरी कम्युनिष्ट आन्दोलनमा भण्डारीले वैचारिक दृष्टिकोण दिनुभएको हो ।’
मुलुकमा सामाजिक न्याय, सामाजिक सुरक्षा, स्थायित्व र देश विकासको उद्देश्यले फरक परिवेशमा रहेका दुई पार्टी तत्कालीन एमाले र माओवादीबीच एकता भएको बताउँदै अध्यक्ष दाहालले एकता भाँड्नका लागि विभिन्न शक्ति केन्द्रबाट प्रयत्न भइरहेको र जनताको चाहना तथा नेतृत्वको सही दृष्टिकोणका कारण कसैको केही नलागेको बताए ।
उनले एक वर्ष अगाडि दुई पाटी एकीकरण गर्दा तीन महीनाभित्र एकता गरिने भनिएको भए पनि प्राविधिक कारणले ढिलो भएको जानकारी गराउँदै केही महिनाभित्र महाधिवेशन सम्पन्न गरिने योजना रहेको बताए ।

463 पटक हेरिएको 

