भोजपुर । भोजपुरमा प्रहरी मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा मङ्गलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए ।
घाइते घिमिरेको उपचारको क्रममा आज बिहान ३ः३० बजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए। भोजपुरको भैँसीपङ्खाको भीरको सडकमा ढुङ्गा झरेर बाटो अवरोध भएपछि घिमिरेलाई धरान पु¥याउन ढिला भएको प्रजिअ खतिवडाको भनाइ छ ।
घिमिरेको साथमा हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमाक्षेत्रमा पर्दछ । सो क्रममा कार्यकर्ताले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए ।

418 पटक हेरिएको 

