उपराष्ट्रपति नन्दबहादुर पुन आइतबार अष्ट्रिया जाँदै

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आगामी आइतबार भियना जाने भएका छन् । अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उनी त्यसतर्फ जाने भएका हुन् ।

यही जेठ १४ मा हुने आर २० नामक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ । उनीसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि रहनेछन् ।

उपराष्ट्रपति पुन सोमबार भियना अन्तरराष्ट्रिय केन्द्रको ४० औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा समेत सहभागी हुने जनाइएको छ । सो केन्द्र भियनाको बहुपक्षीय कूटनीतिको केन्द्रका रुपमा रहेको छ । सोही दिन साँझ उनी अष्ट्रियाका फेडरल चान्सलर सेबास्तियन कर्जले आयोजना गर्ने स्वागत समारोहमा समेत सरिक हुने कार्यक्रम छ । उनीसँगै विभिन्न देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रतिनिधिमण्डलका प्रमुख सो समारोहमा सहभागी हुने बताइएको छ ।

सम्मेलनको पहिलो दिन उपराष्ट्रपति पुनले जलवायुसम्बन्धी एउटा सत्रमा सम्बोधन गर्नेछन्। सो सत्रमा विभिन्न देशका राष्ट्र र सरकार प्रमुख सहभागी हुनेछन् । सोही दिन उनी भियनाका राष्ट्रपति बेलेनद्वारा आयोजित दिवा भोजमा सरिक हुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीहरुको सहभागितामा गोलमेच सम्मेलनसमेत हुनेछ ।

सोही साँझ संयुक्त राष्ट्र सङ्घको भियनास्थित कार्यालयका आवासीय प्रतिनिधि÷राजदूत प्रकाशकुमार सुवेदीद्वारा आयोजित रात्रिकालीन भोजमा उनी सहभागी हुने कार्यक्रम छ । भियनामा रहँदा उपराष्ट्रपति पुन अन्तरराष्ट्रिय सगरमाथा दिवमा समेत सहभागी हुनेछन् । उपराष्ट्रपति पुन जेठ १७ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार