काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार १० महिना पुगेको छ । तर, अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
चार सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्दा पनि प्रहरीले कुनै संकेत फेला पार्न सकेको छैन । १० महिनादेखि प्रहरी छिट्टै अभियुक्त पत्ता लगाउने भनेर एउटै जवाफ दिन बाध्य छ । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू आफैँ रनभुल्लमा छन् । निर्मला हत्या प्रकरणमा प्रहरी अधिकृतमाथि नै कारबाही गरिएको थियो । हत्याको विरोधमा चर्किएको विरोध प्रदर्शनमा एकजना किशोरको मृत्युसमेत भएको थियो ।
बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीको सामान्य सिद्धान्त हुन्छ– घटनामा संलग्न व्यक्ति चिनजानकै हुन्छ । बलात्कारपछि पीडितबाट आफ्नो पहिचान खुल्ने डरले उनीहरूले हत्या गर्ने सम्भावना हुन्छ भन्ने मान्यतामा आधारित भएर प्रहरीले अनुसन्धान अघि बढाउँछ । निर्मलाको हत्या घटनामा समेत प्रहरीले यही सिद्धान्तको सूत्र अवलम्बन ग-यो । तर, अहिलेसम्म प्रहरी सफल हुन सकेको छैन । अभियुक्त पत्ता लाग्ने आशा न्यून हुँदै गएको छ ।

७० जनाको डिएनए परीक्षण
निर्मला हत्या घटनाको अनुसन्धान डिएनए परीक्षणमा अल्झिएको छ । मृतकको शरीरमा बलात्कार गर्ने व्यक्तिको डिएनए नमुना भेटिएको थियो । त्यसबाहेक अन्य प्रमाण फेला पर्नसकेको छैन । सोही प्रहरी अनुसन्धान डिएनए परीक्षणमा केन्द्रित भएको थियो । हालसम्म प्रहरीले करिब ७० जनाको डिएनए परीक्षण गरिसकेको छ । तर, नमुनासँग कसैको पनि नमिलेको प्रहरीको भनाइ छ ।

438 पटक हेरिएको 

