बाँके । भारतीय तेल नेपाली बजारमा गैरकानूनीरूपमा बिक्री हुन थालेपछि गत वर्षदेखि सरकारले नै प्रतिबन्ध लगाएको हो । तर, नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परीक्षण र जाँचविना भित्रिरहेको छ ।
भारतीय ब्राण्डका चक्र, तुलसी, जयभारत, सनलाइट, टेक्टर र बैलकोलु, सनमुन, फरट्युन, तड्कालगायतका गुणस्तरहीन खानेतेल खुलेआम नेपाल भित्रिरहेका छन् । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट तस्करले ठूलो मात्रामा अखाद्य मानिएका भारतीय ब्राण्डका तेल नेपाल भित्र्याइरहेका छन् ।
नेपालगञ्जका किराना व्यवसायी प्रदीप बर्माका अनुसार तस्करले प्रतिलिटर रु १० का दरले सामान बोक्ने (क्यारिङ) व्यक्तिलाई भाडा दिने गरेका छन् । उनले भारतीय तेलका कारण नेपाली उत्पादनमा समेत समस्या भइरहेको बताए।

भारतीय बजारमै अखाद्य खाने तेलको बिगबिगी बढेपछि सीमावर्ती रुपैडिहाका नागरिक नेपाली खानेतेलको प्रयोग गर्ने गर्न थालेको रुपैडिहाका कपडा व्यवसायी सुमित चौरसिया बताए ।
ब्रान र तोरीको तेल मिश्रण गरेर बनाइएका यस्ता तेलले स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले बेचबिखनमा प्रतिबन्ध लगाइए पनि नेपालगञ्ज बजारमा भने खुलेआम भारतीय अखाद्य खानेतेलको बेचबिखन भइरहेको छ । हानिकारक रसाइन मिसाएर बजारमा तोरीको तेल भनेर बिक्री भइरहेको उपभोक्ताको गुनासो छ ।
सस्तो मूल्यमा पाइने भारतीय तेलका कारण नेपाली तेलको बिक्री घटेको छ । भारतबाट आउने तेल नेपाली तेलको तुलनामा सस्तो पनि हुने गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नेपाली बजारमा भारतीय अखाद्य खानेतेल आयात भइरहेको भन्ने सुन्नमा आएकाले अनुगमन गरेर त्यसमा पूर्णरूपमा रोक लगाउने बताए ।

511 पटक हेरिएको 

